सिन्धुली, ८ बैशाख । सिन्धुलीमा हावाहुरीसँगै परेको पानी र असिनाका कारण जुनार र मकै बाली नष्ट भएको छ । किसानहरुले करिव २५ हजार हेक्टर क्षेत्रमा लगाएको व्यावसायिक जुनार खेतीमा असिनाले क्षति पुर्याएको अनुमान गरिएको छ ।
गोलन्जोर गाउँपालिकाको रतनचुरा, तीनकन्या सुनकोसी गाउँपालिकाको मझुवा र कमलामाई नगरपालिकाको चपौलीका किसानहरुको जुनारलगायत मकै खेतीमा असिना पानीले नोक्सान गरेको हो । किसानहरुका अनुसार आधा किलो तौलसम्मका असिनाहरु १५ मिनेटसम्म आकाशबाट खसेको थियो । असिनाले घरपालुवा गाईवस्तुसमेत घाइते भएको जनाइएको छ ।
सिन्धुलीको प्रमुख नगदेबाली जुनारको व्यावसायिक खेती विस्तारका लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन कार्यक्रम सञ्चालन गरिरहेको छ ।