काठमाडौँ, २६ असार। नेपाल भारतको सिमा बिबादपछि भारतीय मिडियाहरुले नेपाललाई लक्षित गरी विभिन्न आरोप प्रत्यारोप गर्ने तथा अफवा फैलाउने काम गरिरहेका छन्।
यसैबीच पछिल्लो समयमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राजदुत होउ यान्छीको नाम जोडेर अफवा फैलाएपछी च्यानल वितरकहरुले बिहीबार साँझदेखी सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।
भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए । डिशहोम तथा विभिन्न केवल सेवाप्रदायक र आईपीटीभी सेवा प्रदायकहरुबाट वितरित टेलिभिजन प्रशारणमा यस किसिमको रोक लागेको हो ।
हाल नेपालमा ३० लाख टेलिभिजनका ग्राहक छन् भने सामाजिक सञ्जाल प्रयोगकर्ता करोडमाथि छन् । टेलिभिजन सेवाप्रदायकहरूले सामाजिक सञ्जाल तथा एपमार्फत समेत त्यस्ता टेलिभिजन च्यानलमाथि प्रतिबन्ध लगाउन सरकारलाई सुझाव दिएका छन् ।
युट्युव लगायतका सामाजिक सञ्जाल तथा एपहरूबाट हुने त्यस्ता च्यानलको प्रसार माथि प्रतिबन्ध लगाउने कार्य भने चुनौतिपूर्ण नै छ ।
