नेपाली फिल्म इण्डस्ट्रीमा यतिबेला अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहबीचको विवादले चर्चा कमाएको छ। अभिनेता केसी र अभिनेत्री शाहबिचको विवाद लम्बिंदै गएपछि भुवन केसीले बिहीवार जिल्ला अदालत काठमाडौंमा साम्राज्ञी विरुद्ध मुद्दा दर्ता गरेका छन् ।
साम्राज्ञीले चलचित्र ‘ड्रिम्स’ को सेटमा आफूलाई नराम्रो व्यवहार गरेको र जापानमा भएको अवार्डमा दुव्र्यवहार गरेको आरोप लगाएपछि भुवनले चलचित्र कलाकार संघमा सत्यतथ्य छानबिनको माग गर्दै निवेदन दिएका थिए । संघले विवाद मिलाउन नसकेपछि भुवन अदालत पुगेका हुन् ।
केसी मानहानीको मुद्धा लिएर अदालत पुगेका हुन् । यो विषयमा विभिन्न व्यक्ति तथा संचार माध्यमले बोल्न थालेपछि अब सबै कुरा अदालतले फैसला गर्ने भुवनले बताएका छन् । साम्राज्ञीले सामाजिक सञ्जालमा पटक-पटक भिडियो सार्वजनिक गरेर आफूमाथि झुटा आरोप लगाएको केसीको भनाइ छ।
केहि समय अघि इन्स्टाग्राममा एक भिडियो पोस्ट्याउँदै अभिनेत्री साम्राज्ञीले आफूले अभिनय गरेको आठ चलचित्रमध्ये तीन चलचित्र ब्यानरका व्यक्तिले नराम्रो व्यवहार गरेको बताएकी थिइन् जसमा उनले भुवन केसीलाई समेत समेटेकी थिइन। साम्राज्ञीले आफूलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै भुवन केसीले फेसबुकमा ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै आक्रोशपूर्ण स्टाटस समेत लेखेका थिए ।
बिबाद बढ्दै गएपछि भुवन केसीले आँफु माथि गाली र बेइजती भएको भन्दै मुद्धा दर्ता गरेका हुन्।