काठमाडौँ, १२ साउन । सामाजिक सञ्जाल फेसबुक आइडी ह्याक गरेर ठग्ने एकजनालाई प्रहरीले पक्रेको छ । महानगरीय अप’राध महाशाखाले जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा दुहवीबाट साविर आलमलाई पक्रेको हो ।
२३ वर्षीय साविरले फेसवुक ह्याक गरेर सो आइडी चलाउनेको आफन्तसँग ‘ठूलो समस्यामा छु, तुरुन्तै पैसा पठाइदिनुस्’ भनेर म्यासेज गर्थे । अनि, आइडीवालाको आफन्त पैसा पठाउन राजी भएपछि उनले आफ्नै खातामा डिपोजिट गर्न लगाउँथे ।
फेसवुक प्रयोगकर्ताको एकजना आफन्तले पठाएको ५० हजार निकाल्न जाँदा साविरलाई पक्रेको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी दिपक थापाले जनाएका छन ।
उनले भने, ‘बैंक ट्रान्जेक्सन हेर्दा ठुलो परिमाणमा आर्थिक कारोबार गरेको देखिएको छ, थप अनुसन्धान गर्दैछौँ ।’ सुनसरीको दुहवी शाखाको एउटा बैंकमा पैसा निकाल्न जाँदा पक्राउ परेका साविरले ७५ हजार ठगेको उजुरी परेको छ ।

