दार्चुला, १३ साउन । पहिरोले पुरिएर दुहु गाउँपालिका–३ स्थित सल्लीखेतीमा दुईजना बेपत्ता भएका छन् । पहिरोमा परी एक दम्पत्ती बेपत्ता भएका छन् । घरमाथिबाट पहिरो खस्दा ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रहरी प्रमुख डिएसपी पदमबहादुर विष्टका अनुसार जोशीका छोरा भागेर बाच्न सफल भएका छन् ।
पहिरोमा पुरिएका दम्पत्तीको अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ । खबर पाएलगत्तै उद्धारका लागि नजिकको ब्रम्हदेब चौकीबाट प्रहरी घटनास्थलतर्फ गएको छ ।
नेपाल प्रहरी र स्थानीयवासीले विहानैदेखि बेपत्ताको खोजी गरिरहेका छन् । अहिले पनि घटनास्थलमा पानी परिरहेको र ठूलो पहिरो खसेका कारण उद्धार कार्यमा समस्या भएको डिएसपी विष्टले बताए ।
पहिरोले घरको पर्खाल मात्रै देखिएको छ । पहिरोमा एउटा भैसी र चार वटा बाख्रा पनि पुरिएका छन् । दार्चुला–तिंकर सडक भत्किएर पहिरो गएको थियो ।