बालबालिका

महिला, बालबालिका हराउने क्रम बढ्दै

रोल्पा, १४ साउन । रोल्पामा बर्सेनि महिला, बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्लाबाट बितेका तीन वर्षमा महिला र बालबालिका गरी ११० हराएका छन् । हराउनेमा ३५ बालबालिका र ७५ महिला छन् ।

यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ६५ महिला र ३३ बालबालिका फेला परेका छन् भने अझै १२ जना हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका सेवा केन्द्र रोल्पाका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ४९ महिला, २६ बालबालिका हराएका थिए ।

यसरी हराएका महिला बालबालिकामध्ये ६९ मात्रै फेला परे । सो वर्ष हराएका छ जना अझै पनि भेटिएका छैनन् । यस्तै आव २०७६/७७ मा ३५ महिला तथा बालबालिका हराए ।

हराएकामध्ये सो वर्ष पनि २९ फेला परे भने छ जना अझै फेला पर्न सकेका छैनन् । जिल्लाबाट अघिल्लो आवमा ७५ महिला, बालबालिका हराए । यसरी हराएकामध्ये ६९ मात्रै फेला परे । यस वर्ष पनि छ जना नै अझै फेला पर्न सकेका छैनन् ।

हराएका महिला तथा बालबालिकाका अभिभावकले दिएको सूचनाका आधारमा खोजी गर्न देशभरका प्रहरी युनिटमा हुलियासहित जानकारी गराइने गरेको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका इन्चार्ज मीना विकले बताइन ।

बिकका अनुसार हुलियाकै आधारमा प्रहरीले हराएकालाई फेला पार्ने गरेको छन् । हराएकामध्ये ठूलो सङ्ख्याका महिला तथा बालबालिकालाई प्रहरीले काठमाडौ‌का इँटाभट्टामा फेला पार्ने गरेको छ ।

इँटाभट्टामा काम गर्ने गाउँकै नाइकेले ललाइफकाई लैजाने भएकाले अधिकांश महिला, बालबालिका परिवारलाई जानकारी नदिई भाग्ने गरेको पाइन्छ । राम्रो लाउने, मिठो खाने लहडमा दलालको जालमा फसेर परिवारका सदस्यलाई जानकारी नै नदिई भाग्नेको सङ्ख्या ठूलो रहेको प्रहरीले जनाएको छ ।

हराएको भनी उजुरी परेकामध्ये केही महिला तथा बालबालिका भने घर फर्किसकेका छन् । अभिभावकले दिएको हुलियाका आधारमा प्रहरीले खोजी गर्दा र आफैँ घर फर्केका समेत प्रहरीले जानकारी दिएको छ ।

बितेको तीन वर्षमा ९८ घर फर्किसकेको प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्कअनुसार अझै १२ जना फेला पर्न सकेका छैनन् । यसरी हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्न आफूखुशी हिँड्ने गरेको प्रहरीले बताएको छ ।

परिवारलाई अत्तोपत्तो नदिई घर, विद्यालय, पसल, घाँसदाउरा तथा पँधेराबाटै हराउँदा परिवारलाई मानसिक तथा शारीरिक तनाव हुने गरेको बताइन्छ । हराएका सदस्यको खोजीमा लामो समय बित्ने गरेको हराएकाहरुका अभिभावकले दुःखेसो पोख्ने गर्दछन् ।

घरका सदस्यले मादक पदार्थ सेवनले हुने पारिवारिक बेमेलले गर्दा महिला घर छाड्न बाध्य हुने गरेको पाइएको माहिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष तीर्था आचार्यले बताए ।

गरिबी, चेतना अभाव, मादक पदार्थ सेवन, पारिवारिक बेमेललगायतका कारण महिला तथा बालबालिका घर छाड्न बाध्य हुने गरेको पाइन्छ, आचार्यले भने । आफूखुशी हिँडेका महिला तथा बालबालिका देशका विभिन्न इँटाभट्टा, होटल तथा भारतका विभिन्न स्थानमा रोजगारीमा संलग्न हुने गरेको समेत उनले बताए ।

यो पनि पढ्नुहोस् :-

कैलाली, १४ साउन । मङ्गलबार रातिदेखिको लगातार वर्षापछि कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । अविरल वर्षाले सिँचाइ कुलो भरिएर बस्तीमा पस्दा कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ जलमग्न भएका छन् ।

नदी तथा कुलाको पानी गाउँ पसेपछि सयौँ घर डुबानमा परेका छन् । घरमा पानी पस्दा खाद्यान्न, अन्नपात भिजेर नष्ट भएका स्थानीयवासी शुभम चौधरीले जानकारी दिए ।

जानकी–३, ७, ८, ९ का सयौँ घर डुबानमा परेको चौधरी बताउँछन् । “कुलो फुटेर बस्तीमा पस्दा सयौँ बिघा खेतीयोग्य जमिन पटानी भएको छ”, चौधरीले भने, “सयौँ घरमा अन्नपात र लुगाकपडा भिजेको छ । केही बस्ती सार्नुपर्ने अवस्था आएको छ । हामीले प्रहरीलाई खबर गरेका छौँ ।”

टीकापुर नगरपालिका–५ शाहीपुर, सिम्रेनी, वडा नं ६ को बेलुवा बस्ती डुबानमा परेको छ । माथिल्लो तटको पानी बग्दै जाँदा यी क्षेत्रमा बाढीको खतरा बढेको छ ।

निरन्तर वर्षा भएपछि कर्णाली नदीमा निर्माण भएको तटबन्ध भत्कने जोखिम बढेको छ । तटबन्ध भत्कन थालेपछि कर्णाली नदी बस्तीमा पस्ने खतरा बढेको स्थानीयवासी बडघर धर्मराज जैशीले बताए ।

“वर्षाले गाउँ जलमग्न भएपछि सबैतिरका सडक बन्द भएका छन्”, बडघर जैशीले भने, ‘‘उद्धारका लागि शाहीपुर–सिम्रेनी जानसक्ने अवस्था छैन । यस्तै वर्षा निरन्तर भइरहे बस्ती सानुपर्नेछ ।”

लगातारको वर्षाका कारण टीकापुरको जमरा नदीमा पानीको बहाव बढेको छ । जमरा कुलोमा पानी सहतभन्दा माथि पुगेपछि बस्तीमा बग्न थालेको छ । पानी बस्तीमा पसेपछि मुनुवास्थित किसान बिजवृद्धि कृषि सहकारी संस्थामा रहेको २०० क्विन्टल गहुँको बीउ र मौज्दात मल भिजेर नष्ट भएको छ ।

नदी पुलभन्दा छ फिट माथिबाट बग्न थालेपछि सामान सार्न जानसक्ने अवस्था नरहेको दिलबहादुर चौधरीले जानकारी दिए । टीकापुरमा रहेका सिँचाइ कुला भरिएपछि टीकापुरका सबैजसो बस्ती जलमग्न भएका छन् । टीकापुरमा सयौँ घरमा पानी पसेको स्थानीय दुर्गा बुढामगरले बताए ।

उता कैलालीको भजनी र जोशीपुर क्षेत्र पनि डुबानमा परेको छ । भजनी र जोशीपुरमा पनि सयौँ परिवार विस्थापित हुने अवस्था आएको छ । भजनीस्थित पत्रकार कुसुम धामीका अनुसार भजनी–३ र ७ मा रहेका सयौँ घर डुबानमा परेपछि उनीहरुलाई उच्च स्थानमा सार्ने तयारी थालिएको छ ।

यसैगरी जोशीपुर गाउँपालिकाका अधिकांश वडा जलमग्न भएका छन् । कान्द्रा र काँडा नदी सतहभन्दा माथि पुगेपछि जोशीपुर–१, ३, ५, ७ का अधिकांश बस्ती डुबानमा परेका स्थानीय पदम बोहराले बताए ।

“नदी भरिएर बस्ती डुबानमा मात्र परेका होइन, सयौँ बिघा धानखेती पटानी भएको छ”, बोहरा भन्छन्, “रातभर वर्षा भएकाले अहिले डुबानमा रहेका बस्तीमा राहत तथा उद्धारका लागि तयारी भइरहेको छ ।”

कैलालीका कर्णाली, मोहना, काडा, कान्द्रा, खुटियालगायतका नदीमा पानीको बहाव बढेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । रातभरिको वर्षापछि कैलालीमा बिहानैबाट प्रहरी उद्धारमा खटेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानले जानकी गाउँपालिकाका केही नागरिकलाई बस्तीबाट सार्ने तयारी गरिएको बताए । “जहाँ–जहाँ जोखिम छ, त्यहाँ समूहमा प्रहरी परिचालन गरेका छौँ”, प्रहरी प्रमुख न्यौपानेले भने, ‘‘स्थानीयस्तरमा रहेका उच्च घर, सामुदायिक वन तथा विद्यालयमा सार्ने तयारी थालेका छौँ । जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा प्रहरी उद्धारमा खटेको छ । विवरण आउन बाँकी छ ।” रासस

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्