सौराहाका होटल

सौराहामा होटल खुले तर ग्राहक आएनन्

चितवन, २४ साउन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन् । होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीले जनाएका छन् ।

विदेशी पर्यटक नआउने भए पनि स्थिति सहज हुने र आन्तरिक पर्यटक आउने व्यवसायीको चाहना थियो तर विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि व्यवसायीको चाहना पूरा हुन सकेन ।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे उत्साहका साथ होटल खोलिएको भए पनि ग्राहक नआएको बताउँछन् । होटल खुलेको भोलिपल्ट आफ्नो होटलमा तीन कोठा बुक भएको तर पछि स्थगन गरिएको उनले जानकारी दिए ।

जङ्गल सफारी लजका सञ्चालक घिमिरेले भने, “होटलमा सात जना कर्मचारी कार्यरत छन्, सात दिन भयो आजसम्म ग्राहक छैनन् ।” सौराहाका सबै होटलको अवस्था यस्तै रहेको उनले बताए ।

घिमिरेले थपे, “हाम्रो अपेक्षा पर्यटक नभए पनि मानिसको आवतजावत हुन्छ । बास बस्न ग्राहक आउँछन् भन्ने थियो, त्यो पनि भएन ।” आउँदो भदौ १ गतेदेखि आन्तरिक विमान सञ्चालनमा नआएमा होटल बन्द गर्ने सोचमा आफू पुगेको उनले बताए ।

होटलसँगै रेष्टुराँ पनि खुलेका छन् तर ग्राहक छैनन् । रेष्टूराँ एण्ड बार एशोसिएशन (रेवान)का अध्यक्ष दीपेन्द्र खतिवडा ग्राहकको आवतजावत अलिअलि भए पनि खाएर बस्ने गरी ग्राहक नआएको बताउँछन् ।

लामो समयसम्म बन्द गर्नुपर्दा पीडामा रहेका व्यवसायीले जेनतेन खोलेको भए पनि ग्राहक नआएपछि निराश भएको उनको भनाइ छ । शुरुका दिनमा केही उत्साह जगाएको भए पनि देशका ठाउँठाउँमा कोरोना बढ्दै गएपछि त्रासले ग्राहक नआएको उनको भनाइ छ ।

सौराहामा १०० हाराहारी रेष्टुराँ छन् । तीमध्ये ५६ रेवानका सदस्य हुन् । आधाभन्दा बढी रेष्टुराँ थोरै कर्मचारी राखेर खुलेका छन् । सौराहामा होटलको सङ्ख्या ११० छ जहाँ पाँच हजार ५०० हाराहारी कर्मचारी कार्यरत छन् ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्न पर्यटक यहाँ आउने गर्दछन् । कोरोनापछि लकडाउनसँगै बन्द भएका होटल यही साउन १५ गतेदेखि सञ्चालनमा आएका हुन् ।

सौराहाका होटल

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्