चिकित्सक

अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय

काठमाडौं, ८ भदौ । टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।

नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाव सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिबाट भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरपालिकाका प्रवत्ता बच्चुराज बस्यालले कोभिड–१९ नियन्त्रणमा प्रत्यक्ष खटिने एम्बुलेन्स चालक, सुरक्षाकर्मी, कार्यालय सहयोगी र स्वीपरलाई तलब तथा दैनिक हाजिरको आधारमा १०० प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

उक्त भत्ता नगरपालिकाको स्वास्थ्य शाखाको सिफारिसका आधारमा उपलब्ध गराउने नगर प्रवक्ता बस्यालले बताए । यस्तै बैठकले कोभिड–१९ नियन्त्रणमा अप्रत्यक्ष खटिने अन्य सवारी चालक, स्वास्थ्य शाखाका कर्मचारीलाई ४० प्रतिशत र नियमित सेवा प्रवाह गर्ने अन्य स्वास्थ्यकर्मीलाई २५ प्रतिशत भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन कार्यमा खटिएका स्वास्थ्यकर्मीलाई असारदेखि भत्ता उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । एउटै व्यक्तिले दोहोरो भत्ता लिन नपाइने व्यवस्थासमेत टोखाले गरेको छ ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितका लागि खाना तथा खाजा खर्चको रकम नगर उपप्रमुखको संयोजकत्वमा रहेको समितिले निर्णय गरी सिफारिस गरेबमोजिम उपलब्ध गराइने जानकारी दिए ।

बैठकले ६० औँ बैठकमा प्रत्येक वडा कार्यालयबाट खटिएका बढीमा १५ जना स्वयंसेवकलाई वडा कार्यालयको सिफारिसका आधारमा राष्ट्रिय बिमा कम्पनीमार्फत कोरोना बिमा प्रक्रिया अगाडि बढाउने निर्णय भए पनि ६१ औँ बैठकले २० जनासम्मको कोरोना बिमा गर्ने निर्णय गरेको छ ।

यस्तै टोखा–२ मा रहेको सार्वजनिक जग्गामा आइसोलेसन सेन्टर स्थापनाका लागि स्रोत, साधन, आवश्यकता र औचित्यताका आधारमा अध्ययन गरी प्रतिवेदन पेश गर्न नगर उपप्रमुख ज्ञानमाया डङ्गोलको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको नगरप्रमुख अधिकारीले बताए ।

कार्यपालिकाको बैठकले नगरपालिकाअन्तर्गत वडाध्यक्षले बुझिलिएका मोटरसाइकल, स्कुटर वडा कार्यलयको नाममा हस्तान्तरण गर्ने तथा नगरपालिकालाई आवश्यक पर्ने स्वास्थ्यसँग सम्बन्धित उपकरण खरिदका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

टोखा–२ चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन बागमती प्रदेश सरकारलाई सिफारिस गर्ने भएको छ ।

नगरपालिकाभित्रका खाद्यान्न, तरकारी तथा फलफूल, दुग्धजन्य तथा मासुजन्य पसल बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न दिँदै आएकोमा आगामी दिनदेखि ५ बजेदेखि ९ः१५ बजेसम्म खोल्न दिने बैठकले निर्णय गरेको छ ।

टोखामा अहिलेसम्म ९२ जनामा कोरोना सङ्क्रमण देखिइसकेको छ । तीमध्ये ६३ जना सक्रिय सङ्क्रमित छन् । नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै शनिबार मात्र १७ शय्याको ‘आइसोलेसन सेन्टर’ स्थापना गरी सञ्चालनमा ल्याइसकेको छ । रासस

यो पनि पढ्नुहोस् :-

काठमाडौँ, ०८ भदौ। खोप विकासमा सबैभन्दा अगाडि रहेका विश्वका तीन कम्पनीका काेराेना विरुद्धका खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको प्रकृया अगाडि बढाएको जनाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले खोप विकासको चरणमा रहेको चीनको हङ् सी, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेका र रुसको गेमेलियाले तेस्रो चरणको परीक्षणको लागि इच्छा देखाएको जनाएको छ । परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भन्नुभयो, “हङ सीले चिनियाँ कम्पनीमा कार्यरत एक हजार जनामा खोप लगाउने प्रस्ताव गरेको छ, उसको प्रस्तावमा सम्भाव्यता र स्वास्थ्य प्रोटोकलबारे परिषद्ले अध्ययन गरिरहेको छ ।”

खोप विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका बमोजिम तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि खोप निर्माता कम्पनीले विश्वका विभिन्न देशमा ठूलो सङ्ख्यामा परीक्षण गर्नुपर्ने हुन्छ। रुसी खोप उत्पादकले समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समक्ष प्रस्ताव राखेको परिषद्का सदस्य सचिव डा. ज्ञवालीले जानकारी दिए।

रुसी राजदूत एलेक्सै नोभिकभले स्वास्थ्य मन्त्रालयसँग पहिलो चरणको छलफलसमेत गर्नुभएको छ । डा. ज्ञवालीले भने, “मन्त्रालयले खोप अध्ययनबारे जिम्मेवारी आज मात्रै दिएको छ, भोलिदेखि अझै तदारुकताका साथ सम्भाव्यता अध्ययन र छलफल अगाडि बढ्नेछ ।” परिषद्का सदस्य सचिव डा. ज्ञवालीले भोलि रुसी राजदूतसँग भेट्ने तय भएको खुलाए।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेकासँग विश्व स्वास्थ्य संगठनको समन्वयमा नेपालका अनुसन्धानकर्ता तथा चिकित्सकीय टोलीले वेबिनारमा खोपको परीक्षणबारे छलफल गरेको छ। अक्सफोर्ड विश्वविद्यालयले छिट्टै नै परीक्षणबारे अद्यावधिक जानकारी गराउने प्रतिबद्धता जनाएको छ। ,याे खबर गाेरखापत्र दैनिकमा साभार गरिएको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्